काठमाडौं, साउन २५ । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले जनताको निराशालाई कसरी हाँसोमा रूपान्तरण गर्ने भन्ने विषयमा राजनीतिक दलको चिन्ता हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले वागमती प्रदेश कमिटीले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उपाध्यक्ष बरालले यस्तो बताउनु भएको हो । एमाले उपाध्यक्ष बरालले अब पार्टीको कामलाई सामाजिक र आर्थिक रूपान्तरणको अभियानमा केन्द्रित गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
अहिले एमालेसँग देश निर्माणको लागि दार्शनिक, सैद्धान्तिक, कार्यक्रमिक आधार, कार्यक्रम र योजना तथा विशाल जनाधार भएको भन्दै बरालले यो शक्तिलाई सामाजिक र आर्थिक रूपान्तरणको अभियानमा लगाउनु पर्ने बताउनुभयो । यिनै आधारलाई टेकेर एमालेको अभियान अघि बढ्ने बरालको भनाई छ ।
एमालेको सही धरातल, सही दिशा, क्रियाशीलता, विघ्न वाधासँग जुध्ने क्षमता र विश्वास रहेको उहाँले बताउनुभयो । यही शक्ति र सामर्थ्यले एमालेलाई गन्तव्यमा पुरयाउने बरालले बताउनु भयो । ‘जहाँ हो गन्तव्य, त्यसमा हामी पुगेरै छाड्छौँ, यो हाम्रो विश्वास हो’, बरालले भन्नुभयो ।
एमालले एक तहमा संगठनात्मक उपलब्धि प्राप्त गरेको बताउँदै बरालले यो उपलब्धिलाई मिसन २०८४ मा उपयोग गर्नुपर्ने बताउनु भयो । राजनीतिक–वैचारिक काममा जे उपलब्धि प्राप्त भएको छ, त्यसले एमालेलाई २०८४ को निर्वाचनमा पहिलो र बलियो राष्ट्रिय शक्ति बनाउन सहयोग पुग्नेछ,’ बरालले भन्नुभयो ।
एमालले सङ्गठित गर्न बाँकी धेरै युवा प्रतिभाव अहिले पनि रहेको भन्दै बरालले उहाँहरूलाई समेट्नको लागि पार्टीले खातिरदारी गर्नुपर्नेमा जोड दिनुभयो । युवालाई संगठनात्मक सञ्जालमा जोड्नु पर्ने बरालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्