काठमाडौं, साउन २५ । न्याय परिषदले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले डा बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको न्याय परिषदका प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । बागचन्द दलित समुदायबाट मुख्य न्यायाधीश बन्ने पहिलो ब्यक्ति हुनुहुन्छ ।
न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश बन्ने इतिहास बागचन्दले रच्न लाग्नुभएको हो । परिषद्को बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट छ जना र कानुन सेवाबाट चार जना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने समेत निर्णय गरेको छ । यस्तै उच्च अदालत र जिल्ला अदालतको न्यायाधीशको सरुवा सिफारिश समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्