जनता टाइम्स

२६ श्रावण २०८१, शनिबार १५:२०

मुख्यमन्त्रीले नै फैलाए प्रधानमन्त्रीबिरुद्ध अफवाह


काठमाडौं, साउन २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर अफवाह फैलाएको पाइएको छ ।

मुख्यमन्त्री आचार्यको भनाईलाई आधार मानेर समाचार प्रकाशित भएलगत्तै प्रधानमन्त्रीको सचिवालयले सो भनाई गलत रहेको बताएपछि उहाँले अफवाह फैलाउनु भएको तथ्य बाहिर आएको हो ।

प्रधानमन्त्रीको सचिवालय सदस्यहरुले आफूहरुले प्रधानमन्त्री बिरामी परेको जानकारी नदिएको र उहाँको स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन । प्रधानमन्त्रीको सचिवालयले यो जानकारी दिएसँगै मुख्यमन्त्री आचार्यले उहाँको बारेमा अफवाह फैलाएको तथ्य पुष्टि भएको हो ।

सवै मन्त्रीसहित संघीय राजधानी काठमाडौं आउनु भएका मुख्यमन्त्री आचार्यले शुक्रवार साँझ प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रिएको कारण शुक्रवार र शनिवारको सवै कार्यक्रम स्थ्गित भएर आइतवार आफूहरुले भेटने कार्यक्रम सरेको बताउनु भएको थियो । मुख्यमन्त्री आचार्यले शुक्रवार साँझ प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको भनाईलाई हवाला दिएर प्रधानमन्त्री ओली बिरामी परेको जानकारी मिडियालाई दिनुभएको थियो ।

मुख्यमन्त्री आचार्यले शुक्रबार सामूहिक भेट्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि आइतबार ११ बजेलाई सारिएको भन्दै थप्नुभएको थियो, ‘प्रधानमन्त्रीज्यूसँग शुक्रवार भेट्ने कार्यक्रम थियो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार ११ बजेलाई सारिएको छ ।’

मुख्यमन्त्री आचार्यले शुक्रबार सामूहिक भेट्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि आइतबार ११ बजेलाई सारिएको भन्दै थप्नुभएको थियो, ‘प्रधानमन्त्रीज्यूसँग शुक्रवार भेट्ने कार्यक्रम थियो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार ११ बजेलाई सारिएको छ ।’

शुक्रवार कुनै पनि कार्यक्रममा प्रधानमन्त्री सहभागी नहुनु भएपछि र सचिवालयका सदस्यहरु कसैको सम्पर्कमै नआएपछि मुख्यमन्त्री आचार्यकै भनाईलाई आधार मानेर मिडियाले प्रधानमन्त्री ओली अस्वस्थ हुनुभएको समाचार प्रकाशन/प्रशारण गरेका थिए ।

शनिवार बिहानै प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएपछि उहाँ बिरामी परेको कुरा पनि सही नभएको पुष्टि भएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता तथा मुख्यमन्त्री आचार्यले नै दिएपछि मिडियाले पत्याएका हुन । उहाँ दलका नेतालाई पन्छाएर मुख्यमन्त्री बन्नुभएको कारण प्रधानमन्त्री ओलीको किचन क्याबिनेट सदस्य रहेको रहेको आम बुझाइ छ।

एमालेकै मुख्यमन्त्री आचार्यलाई बिश्वास गर्दा भ्रम सिर्जना भएपछि प्रधानमन्त्रीको सचिवालय समेत बोलेको छ । प्रधानमन्त्री सचिवालयका सदस्य रामशरण बजगाईंले प्रधानमन्त्रीको बारेमा सचिवालयका सदस्यबाहेक कोही कसैले भनेको आधारमा समाचार नदिन आग्रहसमेत गर्नुभएको छ ।

प्रधानमन्त्रीको निकट भएकै भ्रममा आचार्यले दिनुभएको सूचनाका आधारमा प्रधानमन्त्रीको स्वास्थ्यबारे समाचार बाहिर आएको एमाले नेता–कार्यकर्ताको बुझाइ छ ।