काठमाडौं, साउन २७ । भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपाल आउनु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।
भारतका विदेश सचिव मिस्रीको यो भ्रमण नियमित हो । उहाँ हालै विदेश सचिवमा नियुक्त हुनुभएको थियो । उहाँको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको बताइएको छ ।
भारतीय बिदेश सचिव मिस्री सोमवार स्वदेश फर्किनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्