जनता टाइम्स

२७ श्रावण २०८१, आईतवार १७:५९

भोजपुरकी नानीमैयाँका लागि बरदान बन्यो राष्ट्रपति महिला उत्थान कार्यक्रम, सेनाको हेलिकोप्टरमार्फत गरियो उद्धार


संखुवासभा, साउन २७ । पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि ज्यान जोखिममा परेकी भोजपुरको एक महिलाको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला अस्पताल संखुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । भोजपुरको षडानन्द–५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति उत्थान कार्यक्रम अन्तर्गत हवाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पताल सङ्खुवासभाका डा प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताउनुभयो । मगरलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ग्रामिण बस्तीका महिलाको ज्यान बचाउन जरुरी रहेको निश्कर्षसहित राष्ट्रपति महिला उत्थान कार्यक्रम अघि बढाएको थियो । सो कार्यक्रमबाट दूर दराजमा ज्यान जोखिममा परेको महिलाको उद्धार हुँदै आएको छ ।