दोलखा, साउन २८ । दोलखाको उत्तरी क्षेत्रको तीन पालिकाको लाइफलाइन रहेको दोलखा–सिंगटी सडकको झमार्सी पुलनजिक गएको पहिरोले सडक अवरुद्ध हुँदा जनजीवन निकै प्रभावित बनेको छ । उत्तरी क्षेत्रको लाइफलाइन मानिने दोलखा–सिंगटी सडक पहिरोले दुई सातादेखि अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको हो ।
पहिरोका कारण सदरमुकाम चरिकोटबाट कालिञ्चोक गाउँपालिका हुँदै विगु र गौरीशंकर गाउँपालिका जाने सवारीसाधन पूर्ण रूपमा ठप्प भएको छ । यातायातका कुनै पनि सवारी साधन नचलेपछि त्यस क्षेत्रका स्थानीयहरूको जनजीवन कष्टकर बन्दै गएको छ । पहिरोकै कारण उत्तरी क्षेत्रका २२ वडाका करिव ५० हजार स्थानीयको जनजीवन प्रभावित बनेको कालिञ्चोक गाउँपालिका–४ का वडाअध्यक्ष दिपक खुलालले बताउनु भयो ।
अहिले काठमाडौं र चरिकोटबाट यात्रु तथा सामान लिएर हिडेका सवारी साधनले झमार्सीमा पुगेपछि अर्को गाडी प्रयोग गरेर आवतजावत गर्नुपर्ने बाध्यता खेप्दै आएको छ । यस क्षेत्रमा निर्माणधीन जलविद्युत् आयोजनाको ढुवानी पनि पूर्ण रूपमा प्रभावित बनेको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि आयोजना निमार्णको काम समेत प्रभावित भएको छ । एम्बुलेन्सले समेत वैकल्पिक रूपमा बिरामीलाई झमार्सीमा यात्रीहरू साटासाट गरेर स्वास्थ्य संस्था लैजाने गरेका छन् । झमार्सीबाट मोटरसाईकलबाहेक अन्य सबै सवारीसाधन पूर्ण रूपमा बन्द भएका छन ।
डिभिजन सडक कार्यालय दोलखाले भदौ ५ गतेभित्र अस्थायी रुपमा सडक खुलाउनको लागि निरन्तर निर्माण कार्य भइरहेको बताएको छ । सडक खुलाउन फास्टट्रयाकमा ठेक्का आव्हान गरेको बोलपत्र कबोल गराएर १५ दिनको समयसीमामा सडक खुलाउने गरी निर्माण व्यवसायीले काम थालिसकेको डिभिजन सडक कार्यालयका इन्जिनियर भरत श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्