जनता टाइम्स

२८ श्रावण २०८१, सोमबार १४:१०

नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने गृहमन्त्रीको प्रतिवद्धता


काठमाडौं, साउन २८ । गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएकोउक्त भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

भारत नेपालको सुरक्षा, पूर्वाधार, उर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पुर्याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिनुभयो । सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष जोड दिएको उनको सचिवालयले जनाएको छ ।

भारतीय विदेश सचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने स्पष्ट पार्नुभएको छ । उहाँले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सचिव मिस्रीले गृहमन्त्री लेखकको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे। नेपाल र भारतबीच सांस्कृतिकलगायत धेरै समानता रहेको उल्लेख गर्दै उनले आगामी दिनहरुमा पनि यो सम्बन्ध अझै प्रगाढ हुने उल्लेख गर्नुभयो ।