काठमाडौं, साउन २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका काममा सुधारका सङ्केत देखिन थालेको बताउनु भएको छ ।
ललितपुर, च्यालसस्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले सकारात्मक काम गर्न सुरु गरेको बताउनुभयो ।
‘अहिले पुँजीबजारमा उल्लेख्य सुधार भएको छ । प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको छ । आर्थिक क्षेत्रमा भने केही आशातित सुधार भएको छैन । यसलाई सुधार गर्दै लैजानुपर्दछ,’ महासचिव पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि दल बलियो हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै उहाँले देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको धारणा राख्नुभयो ।
महासचिव पोखरेलले राजनीकि स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्दा दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले कांग्रेस र एमाले मिलेको स्पष्ट पार्नुभयो । मुलुक लगातार आर्थिक सङ्कटमा आउन थालेपछि एमालेका अध्यक्ष शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्