जनता टाइम्स

२८ श्रावण २०८१, सोमबार २३:१७

सामान्य प्रशासनमन्त्री गुप्तासँग स्वीस राजदूतको भेट, दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने प्रतिवद्धता


काठमाडौं, साउन २८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपाल लोकतन्त्रको सवलीकरण र लोकतान्त्रिक संस्थाहरु तल्लो तहसम्म सुदृढ गर्न प्रयाशरत रहेको बताउनु भएको छ । नेपालका लागि स्वीस राजदूत डा. ड्यानियल म्युवली मन्टेलिओनसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री गुप्ताले यस्तो जानकारी दिनुभएको हो ।

राजदूतसँग मन्टेलिओनको भेटमा मन्त्री गुप्ताले नेपाल र स्वीटजरल्याण्डबीच सन १९५६ मा दौत्य सम्बन्ध कायम भएदेखि सधै सौहार्दपूर्ण सम्बन्ध रहीआएको भन्दै खुसी ब्यक्त गर्नुका साथै मित्रता, सदभाव, सहकार्य रआपसी सम्मानको भावनाले दुई मुलुकबीच नजिकको सम्बन्ध बनेको बताउनु भयो ।

यसैगरी स्वीस बिकास सहायता तथा सहकार्य नियोगको प्राथमिकतामा नेपाल रहेको भन्दै उहाँले धन्यवाद दिनुभयो । नेपालको आर्थिक, सामाजिक बिकाशमा स्वीस बिकास सहायता तथा सहकार्य नियोग (एसडीसी) को महत्वपूर्ण योगदान गरेको छ भन्दै मन्त्री गुप्ताले स्वीस बिकास सहायता तथा सहकार्य नियोगको सहयोगमा कोशी प्रदेशका नगरपालिकाहरुको आन्तरिक राजस्व अभिबृद्धि गर्न परियोजना दस्तावेज निर्माणको कार्य अन्तिम चरणमापुगेको जानकारी दिनुभएको थियो ।

यस्तै उहाँले सरकार गुणस्तरीय शिक्षामा सवैको समान पहुँच, उद्यमशिलता सम्बन्धी सीपको बिकास र युवा शक्तिलाई देशमा नै राखिराख्न शक्षा र रोजगारीबीच सन्तुलन मिलाउन प्रयाशरत रहेको जानकारी राजदूतलाई गराउनु भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत मन्टेलिओनले नेपाल सरकारले चालेको सकारात्मक कदमहरुको चर्चा गर्दै दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ दिन आफूहरु तत्पर रहेको बताउनु भएको थियो ।