कठमाडौं, साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका नेता कार्यकर्ताको हत्या गर्ने घोषणा गरेका एक जना सरकारी कर्मचारी पक्राउ परेका छन ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली र एमाले नेता कार्यकर्ताको हत्या गर्ने धम्की दिएको अभियोगमा प्रहरीले धादिङको गजुरी गाउँपालिकाका कर्मचारी राजन लामालाई पक्राउ गरेको हो ।
फेसबुकमा पटक पटक स्टाटस लेख्दै लामाले प्रधानमन्त्री ओलीलाई गाली गलौज र एमाले कार्यकर्तालाई मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लामामाथि साइबर व्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र नेपाल सरकारको बीचमा भइरहेको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाईन’ महसुल विवाद समाधानको सन्दर्भलाई जोड्दै लामाले फेसबुकमा लेखेका छन, ‘जालझेलको अर्को नाम केपी ओली, ज्यानमारा, हत्यारा, गुण्डा नाइके, भ्रष्टहरुको बा ओली ! होसियार, खबरदार कुलमानलाई हटाए केपीका छाउरेहरुलाई पानीमुनी हामी छोड्ने छैनौं याद राख, ‘केपी ओलीलाई ‘बा’ भन्नेहरुलाई गाउँ अनि समाजदेखि नै सखाप पार्ने जिम्मा चाँहि म आफै लिन्छु ।’
ओली प्रधानमन्त्री नियुक्त भएपछि घिसिङलाई अख्तियार लगाएर अपमानजनक बर्हिगमन गर्न खोजेको आरोप लगाउँदै १० वर्षे माओवादी जनयुद्धपछिको दोस्रो जनयुद्ध गरी एक महिनामै केपीलाई बा भन्नेहरुलाई छानी छानी मार्ने लामाले स्टाटस मार्फत धम्की दिएका थिए ।
प्रधानमन्त्री ओली र एमाले नेता कार्यकर्तालाई नरपिचासको शंज्ञा दिंदै ओलीलाई ‘बा’ भन्नेहरुलाई छानीछानी मार्ने धम्की दिने र पटक पटक फेसबुकमा स्टाटस लेख्दै स्थानीय कार्यकर्तालाई त्रसित गराउन थालेपछि एमाले गजुरी गाउँपालिका कमिटीले लामाबिरुद्ध कानूनी उपचारको बाटो रोजेको हो ।
सोही उजुरीको आधारमा पक्राउ गरी नेपाल प्रहरीको साइबर व्युरोले मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । अभियुक्त लामा गजुरी गाउँपालिका–६ निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनी २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षक पदमा कार्यरत छन ।
प्रतिक्रिया दिनुहोस्