काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकास लक्ष्य प्राप्त गर्न निरपेक्ष गरिबीको रेखामुनी रहेका जनतालाई त्यहाँबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरपेक्ष गरिबीको रेखामुनीबाट जनतालाई माथि उठाउन सकिएन भने दिगो विकास लक्ष पुरा हुन नसक्ने बताउनुभयो ।
देशमा अहिले पनि २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी उहाँले बताउनुभयो । वर्षको दुई प्रतिशतका दरले गरिबी न्यूनीकरण गर्न सकिएन भने १० वर्षमा पनि नेपालमा गरिबी निवारण गर्न नसकिने उहाँले बताउनुभयो । त्यसैले नेपालमा गरिबी निवारण गम्भीर प्रश्नको रूपमा रहेको उहाँको धारणा छ । भविष्यको सुरक्षाको लागि वातावरणीय सुरक्षा त्यतिकै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । पृथ्वीलाई बाँच्न सक्ने धर्तीको रूपमा निरन्तरता दिनुपर्नेमा ओलीले जोड दिनुभयो ।

‘हिमालको महत्त्व वातावरणीय प्रश्नमा असाधारण छ, यो कुरा हामीले दुनियाँलाई बताउनु पर्दछ, कि हिमालबाट, कि समुन्द्रबाट वातावरण निर्माण हुन्छ’, ओलीले भन्नुभयो । त्यस्तै खाद्य सुरक्षालाई धान नदिने हो भने गम्भीर अवस्था सिर्जना हुने उहाँले बताउनुभयो । नेपाल जस्तो उर्वर देश बाँझो बन्नु निक्कै जोखिमपूर्ण रहेको बताउँदै उहाँले यस्ता कुरामा ध्यान दिनुपर्नेमा स्पष्ट पार्नुभयो ।
नेपालका कुनै पनि बालबालिका सडकमा हुनुहुँदैन भनेर आफूले पहिला पनि घोषणा गरेको स्मरण गराउँदै ओलीले एक वर्षभित्र नेपालमा कुनै पनि बालबालिका सडकमा नहुने प्रष्ट पारे। त्यसको जिम्मा सरकारले लिने उहाँले बताउनुभयो । युवालाई आयआर्जनसँग जोड्न आवश्यक रहेको ओलीले बताउनुभयो । यसका लागि युवालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको उहाँको भनाई ।

यो कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले सोचिरहेको ओलीले जानकारी दिनुभयो । साना उद्योगमा युवालाई जोडेर विकासको लहर ल्याउन सकिने उहाँले धारणा राख्नुभयो । केही युवा रहरले बाहिर गएका भए पनि धेरै युवाहरू देशमा असहज अवस्था भएकै कारण बाहिर गएको पनि ओलीले बताउनुभयो । त्यसलाई रोक्न नसक्ने हो भने देश युवाविहीन बन्ने अवस्था आउने ओलीको धारणा छ । देशमा जनसङ्ख्या वृद्धिदर घट्नु अर्को जोखिमको सङ्केत भएको ओलीले बताउनुभयो ।
‘धेरै ढिलोमा पनि ५० वर्ष पछि ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै छ’, ओलीले भन्नुभयो । उमेर भएका युवा युवती विदेश बस्नाले पनि जनसङ्ख्या घट्दै गएको ओलीले बताउनुभयो । उहाँले २०-३० वर्षबीचको उमेरमा नै विवाह गर्न र चाँडो बच्चा जन्माउन युवालाई सुझाव दिनुभयो । भविष्य बनाउनको लागि बहकिएर होइन यथार्थमा आउन ओलीले आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्