काठमाडौं, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान संशोधन प्रतिगमनका लागि हुन्छ भन्ने कुरा आफू र सत्तारुढ दलहरुले सोच्न पनि नसक्ने बताउनु भएको छ । उहाँले प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था भएको बताउनु भएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई आफ्नो जीवन पद्धति मानेर सरकार र जनता चल्ने प्रणालीको अभ्यास नेपालले गरिरहेको बताउनुभयो । उहाँले सरकार लोकतन्त्रका मूल्य, मान्यता, देश र जनताप्रति समर्पित भएर सुशासनका निम्ति निरन्तर लागिरहने जानकारी दिनुभयो ।
‘संविधानको रक्षा र परिपालनमा सरकारका तर्फबाट कुनै कमी कमजोरी रहँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । कसैको पनि लोकतन्त्रप्रति मतमतान्तर नभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यही हिसाबले देश अघि बढ्ने बताउनु भयो । अहिले लोकतन्त्रका विरुद्धमा केही प्रवृत्ति देखिएको बताउँदै प्रधानमन्त्री ओलीले गन्तव्य के हो भन्ने स्पष्ट दृष्टिकोण नभएकाहरू यसको विरुद्ध लागेको बताउनु भयो ।
मुलुकमा अहिले सामाजिक, नैतिकता र इमानको बन्धनको बेवास्ता गरेर चल्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले यसबाट देशलाई मुक्त बनाउनु पर्ने बताउनु भयो । ‘समाजलाई विभिन्न ढङ्गले भड्काउन खोजिएको छ’, उहाँले भन्नुभयो । केही कमजोरीलाई देखाएर समाजलाई भड्काउने प्रयास भएको भन्दै उहाँले सरकार यस मामलामा सजग भएको बताउनु भयो । बलिदान र संघर्षले यो व्यवस्था प्राप्त भएकोले यसलाई ख्याल ख्याल नगर्न पनि उहाँले चेतावनी दिनुभयो ।
‘धेरै जनताको रगत बगेको छ, एक जना, दुई जनाको होइन, धेरैको जीवन गएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले अन्य शक्ति केही समयको लागि देखिन सक्ने भए पनि तिनीहरू दिगो नहुने प्रष्ट पार्नुभयो । ‘दिगो भनेको लोकतन्त्र मात्रै हो, टिकाउ भनेको लोकतन्त्र मात्रै हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले संविधान संशोधन प्रतिगमनको लागि हुन्छ भन्ने कुरा सोच्न पनि नसकिने बिषय पुनः दोहोर्याउनु भयो । लोकतान्त्रिक शासन प्रणाली मिचेर जाने ठाउँ काहीँ पनि नभएको उहाँले बताउनुभयो । तानासाहका विरुद्ध आफूहरू लडेर आएकोले सुशासन र विकासका काम, लोकतन्त्र र समावेशितालाई अझ प्रभाकारी बनाउन संविधान संशोधन गर्न सकिने उहाँले बताउनुभयो । संविधान देश, जनता, सुशासन र समृद्धिका लागि चाहिएकोले त्यही अनुरूप संविधान संशोधन हुने उहाँले बताउनुभयो । ‘संविधान असंशोधनधनीय दस्ताबेज होइन, संशोधनीय दस्ताबेज हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले संविधानको सर्वस्विकार्यतालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिने बताउनु भयो । संविधान संशोधन व्यापक छलफल गरेर मात्र गरिने पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । संविधानप्रति सबैलाई माया भएको सबैले मिलेर परिमार्जन र संशोधन गर्ने उहाँको भनाई छ ।
समाजमा सामाजिक मूल्य मान्यताकै बर्खिलाप हुने गरी केही ट्रेन चलेकाले त्यसलाई रोक्नु पर्ने ओलीले बताउनुभयो । समाजलाई गाइड गर्नुपर्ने सांसदहरूले नै सामाजिक मूल्य मान्यता विपरीत बोल्ने र व्यवहार गर्ने हो भने समाजमा भएका गतिविधि विरुद्ध बोल्ने ठाउँ नहुने ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्