काठमाडौं, साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेको राजीनामा माग्नुभएको छ ।
पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापति लामिछानेलाई सम्बोधन गर्दै राजीनामा माग्नुभएको हो ।
‘मैले आजसम्म तपाईँलाई होस वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ,’ ढकालले स्पष्टीकरणको जवाफ दिँदै भन्नुभएको छ ।
निलम्वित महामन्त्री ढकालले सभापति लामिछानेलाई सहकारी प्रकरणदेखि दुई वटा पासपोर्ट प्रकरणको बिषय पनि उठाउनु भएको छ भने नीतिगत काम मात्र गरिन्छ भन्दै गृहमन्त्री बन्दा सरुवा बढुवामा चलखेल गरेको आरोप लगाउनु भएको छ । यी सबै प्रश्नको जवाफ दिन र लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आँट गर्नुहुन्छ ? भन्दै ढकालले रवि लामिछाने पार्टी सभापति पदमा रहिरहन योग्न नरहेको बताउनु भएको छ ।
‘आज पार्टीको छवि, मेरा कारणले नभई तपाईँको कारणले धुमिल हुँदै गएको छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईँका कारणले नाश हुँदै गइरहेको छ । पार्टी जोगाउने मौका दिनुहोस् । वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस् । पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु,’ ढकालले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्