जनता टाइम्स

३२ श्रावण २०८१, शुक्रबार २१:१८

नयाँ हेलिकप्टर खरिदमा नेपाललाई सहयोग गर्न अमेरिका तयार, प्रधानमन्त्री-परराष्ट्रमन्त्रीसँग उपबिदेशमन्त्रीले जनाए प्रतिवद्धता


काठमाडौं, साउन ३२ । अमेरिकाले नेपाललाई नयाँ हेलिकप्टर खरिदमा सहयोग गर्न तयार भएको जनाएको छ ।

नेपाल भ्रमणमा रहनुभएका व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगको भेटवार्तामा नेपाललाई हेलिकप्टर खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

नेपालले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न अमेरिकाबाट दुई वटा हेलिकप्टर खरिदको लागि रक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत पहल गरेको थियो । नेपालको उक्त प्रस्तावमा अमेरिका सहमत भएको हो ।

रक्षा स्रोतका अनुसार नेपाली सेनाले केही वर्षयता विपद् व्यवस्थापनको लागि हेलिकप्टर खरिद गर्न खोजिरहेको छ । यूक्रेन र रुसको युद्ध भएपछि नेपालले रुसबाट हेलिकप्टर किन्ने योजना बनाए पनि रोकेर अमेरिकासँग हेलिकप्टर खरिदको लागि पहल गरेको थियो । परराष्ट्र मन्त्रालयका अधिकारीहरुले नेपालकै माग अनुसार अमेरिकाले सहमति जनाएको बताएका छन ।

यसअघि नेपाललाई अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अन्तर्गत हेलिकप्टर दिने भनेको थियो । तर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेपछि उक्त सहयोग रोकिएको थियो । एसपीपीबाट नेपालले हात झिकेपछि अब आफैं हेलिकप्टर खरिद गर्न लागेको हो ।

अमेरिकी उप–विदेशमन्त्री वर्माको नेपाल भ्रमण सफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । उहाँले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उक्त अवसरमा उहाँले नेपालीहरुका लागि उज्जवल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी गरेको दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्तामा वर्माले दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । ‘नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो,’ सचिवालयको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालको विकासका विविध क्षेत्रमा सहयोगको अपेक्षा समेत राखेका थिए । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराउनु भएको छ ।

सो क्रममा उपमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वर्माले नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताउनु भयो ।

अमेरिकी उपविदेशमन्त्री वर्माले नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकामा प्रधानमन्त्री ओलीलाई बधाई समेत दिनुभएको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित पराराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

यसैगरी, वर्माले परराष्ट्रमन्त्री राणा देउवासँगको शिष्टाचार भेटवार्तामा नेपाल अमेरिका सम्बन्ध, आपसी हित, विकास सहायता आयोजनालगायतका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणकै क्रममा वर्माले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालका अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको छ । वर्माले अमेरिकी विकास सहयोग नियोग युएसएआइडी नेपालको साझेदार नेपाल टि (चिया)–कलेक्टिभ टोलीसँग ठमेलमा चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गर्नुभएको अमेरिकी दूतावासले जनाएको छ ।