सोलुखुम्बु, भदौ १ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ ।
शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको छ । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
सो क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
‘पाँच वटा हिमताल रहेकामा दुई वटा फुटेको र दुई वटा अझै जोखिममा रहेको स्थलगत अवलोकनमा गएका सदस्यहरुले बताउनुभएको छ,’ प्रजिअ पाण्डेले भन्नुभयो । बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।
प्रतिक्रिया दिनुहोस्