जनता टाइम्स

४ भाद्र २०८१, मंगलवार १०:५५

सहयोगी इजरायलतिरै लुकेपछि अष्ट्रेलियाको राजदूत सिफारिश कान्ताको जागिर चैट


काठमाडौं, भदौ ४ । अष्ट्रेलियाका लागि नेपाली राजदूत सिफारिस हुनुभएकी कान्ता रिजालको नाममा टिपेक्स लागेको छ । इजरायलको राजदूतका रुपमा आफूसँगै लगेकी एक जना सहयोगी महिला लुकेको तथ्य पुष्टि भएपछि रिजालको राजदूत पद नै चैट भएको हो ।

मन्त्रिपरिषद बैठकले रिजाललाई राजदूतमा सिफारिश गरेको भएपनि इजरायलमा राजदूतका रुपमा रहँदा लगिएको सहयोगी महिला छाडेर आएको पुष्टि भएपछि संसदीय सुनुवाई समितिमा सुनुवाईका लागि नपठाइएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जनताटाइम्स डटकमलाई बताए ।गत साउनमा बसेको मन्त्रिपरिषद बैठकले १८ जना राजदूतहरुको नाम सिफारिस गरेको थियो ।

तर साउन २७ गते पराराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ विशेष समितिमा १७ जनाको नाम मात्रै पठाइएको छ । संसद सचिवालयमा पुगेको सूचीमा अष्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी रिजालको नाम हटाइएको हो । रिजाललाई परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाकै दल नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिश गरिएको थियो ।

रिजाल इजरायलको राजदूतका रुपमा कार्यकाल पूरा गरी असार ३१ गते नेपाल फर्कनुभएको थियो । नेपाल फर्के लगत्तै नेपाली कांग्रेसको कोटामा फेरि अर्काे देश अष्ट्रेलियाको राजदूत सिफारिस हुनुभएको थियो । सिफारिश भएपछि इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले रिजालले आफ्ना सहयोगी छाडेर नेपाल फर्केको जानकारी सरकारलाई गराएको थियो ।

रिजालसँग इजरायलमा सहयोगीमा रुपमा गएकी एक महिला उनीसँग नेपाल नफर्किएको भन्दै दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) कुमारबहादुर श्रेष्ठले परराष्ट् मन्त्रालयमा जानकारी गराएपछि सुनुवाईका लागि नाम रोकिएको हो । राजदूत भएपछि रिजालले दुई जना सहयोगीलाई आफूसँग इजरायल लैजानुभएको थियो । जसमध्ये एक जना नेपाल फर्किए पनि अर्का सहयोगी इजरालयमै लुकेको पाइएको छ ।

इजरायल सरकारले रिजालसँग आएकाहरु फर्किए/नफर्किएकोबारे लिखित सूचना माग गरेपछि डीसीएम श्रेष्ठले ‘नोट भर्बल’ (एनभी) लेखेर एक जना सहयोगी नेपाल नपुगेको सूचित गर्नुभएको हो ।