जनता टाइम्स

४ भाद्र २०८१, मंगलवार २०:३३

माओवादी सांसद राजन दाहालमाथि लाग्यो गम्भीर आरोप, इञ्चार्जको परिपत्रपछि जिल्लामा मुख देखाउनै कठिन


गरेसिन्धुली, भदौ ४ । संसदमा अन्टसन्ट बोलेर चर्चामा आउन रुचाउने नेकपा माओवादी केन्द्रका सांसद तथा सिन्धुली जिल्लाका पूर्व जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ माथि आर्थिक अनियमितताको आरोप लागेको छ ।

जिल्ला पार्टी कार्यालयको भवन निर्माण गर्दा दाहालले आर्थिक अनियमितता गरेको आरोप पार्टीले नै लगाएको हो । जिल्ला समन्वय समिति सिन्धुलीको जिल्ला इन्चार्ज बुद्धिमान माझी (बशन्त) को अध्यक्षतामा बसेको बैठकले हालसम्म पनि भवन निर्माणको आयव्यय विवरण नबुझाएको भन्दै पार्टी कमिटीमा परिपत्र गरेपछि दाहालको अनियमितता बाहिर आएको हो ।

‘जिल्ला पार्टी कार्यालयको भवन निर्माणको आय व्याय प्रस्तुत गर्न यसअघिको जिल्ला समन्वयको निर्णय अनुसार तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य लेखनाथ दाहाललाई बारम्बार अनुरोध र ताकेता गरियो । भवन निर्माण कार्यक्रको क्रममा पनि खाता सञ्चालक गणेश रत्नलाई कार्यालयमा बोलाएर आयव्यय प्रस्तुत गर्न आग्रह गरियो, सुनुवाइ भएन । गणेश रत्नको भनाइको आधारमा भवन निर्माणबाट बाँकी रकम करिब ४०–४५ लाख जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ । हालसम्म भवन निर्माको आय व्याय पार्टी कमिटीलाई प्राप्त भएको छैन,’ इन्चार्ज माझीले पठाएको परिपत्रमा भनिएको छ ।

परिपत्रमा उल्लेखित जनसेवा फाउन्डेसनकी अध्यक्ष दीपा बोहरा दाहाल सांसद राजनकै पत्नी हुनुहुन्छ । उहाँ सुनकोशी गाउँपालिका अध्यक्षसमेत हुनुहुन्छ । माओवादीको पार्टी कार्यालय कमलामाई नगरपालिका–६ स्थित २ मा ७० लाख हाराहारीमा १२ धुर जग्गा किनेर भवन बनाइएको छ । स्थानीय व्यापारीले रड, सिमेन्ट, गिट्टी, बालुवा सहयोग गरेको उक्त भवनमा ज्यामीको ज्यालाका लागि संकलित रकम र भएगरेको खर्चको हिसाब सार्वजिनक गर्न गत वर्ष पनि आवाज उठेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नुभएको सो भवन निर्माणमा दुई करोड बढी खर्च लागेको अनुमान गरिएको छ । तर भवन बनाइसकेको दुई वर्ष बित्न लाग्दासम्म आम्दानी खर्च विवरण सार्वजनिक गर्न आलटाल गरेपछि नेता कार्यकर्ताले दाहालमाथि आर्थिक हिनामिनाको आरोप लगाउँदै आएका छन । बिवाद बढदै जाँदा जिल्ला इञ्चार्जले परिपत्र नै गर्नुभएको हो ।