जनता टाइम्स

४ भाद्र २०८१, मंगलवार २३:३६

खहरे खोलामा बसेर समय बर्वाद पारिन्न भन्दै टीमसहित एमाले प्रवेश गरे जसपा केन्द्रीय सदस्यसहित माओवादी र नेकपा एसका प्रभावशाली नेता


धनकुटा, भदौ ४ । जनता समाजवादी पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौँ नेता–कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

एमाले धनकुटाले मंगलवार आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी पार्टीका नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन ।

जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश कमिटी सदस्य एवं धनकुटा जिल्लाका पूर्वअध्यक्ष बलबहादुर राई, साँगुरीगढी गाउँपालिका कमिटी अध्यक्ष लिलाराज लावती सिंगो टीमसहित एमालेमा प्रवेश गर्नुभयो ।

यस्तै नेपाली काँग्रेस साँगुरीगढी गाउँपालिका उपसभापति प्रकाश राई, नेकपा एकीकृत समाजवादीका नेता प्राडा.गोपालबहादुर भट्टराई, नेकपा एस साँगुरीगढी ३ का अध्यक्ष प्रवेश लिंखासहित विभिन्न पार्टी परित्याग गरी करिब ५ सय नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रबिन कटेलले जानकारी दिनुभयो ।

उहाँहरूलाई एमाले उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य एवं धनकुटा इञ्चार्ज राजेन्द्र राई, केन्द्रीय सदस्य सकुन्तला बस्नेत र बिनादेवी राई, अग्रज नेता गोपाल गुरागाईं, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, प्रदेश सहसचिव देवानसिंह राई, जिल्ला अध्यक्ष शिव आङ्लालगायतका नेताहरुले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

सो अवसरमा नवप्रवेशीको तर्फबाट बोल्दै बलबहादुर राईले खहरे खोलामा बसेर समय बर्बाद गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेर मूलधारको पार्टीमा बताउनु भयो ।