जनता टाइम्स

५ भाद्र २०८१, बुधबार १९:३९

एमाले नेता राजन भट्टराइले राखे ओली सरकार गठनपछि देशमा सकारात्मक प्रभाव परेको तथ्य


सिन्धुली, भदौ ५ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईले मुलुकलाई अस्थिरतामा जानबाट जोगाउन नेकपा एमाले नेपाली कांग्रेस मिलेका बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोजिएपछि दुई ठुला दल एक ठाउँमा उभिनुपर्ने स्थिति आएको बताउनुभयो ।

नागरिकमा बढेको निराशा, अस्थिरता र अराजकतालाई रोक्नु र देशलाई विकासको बाटोमा अघि बढाउनु अहिलेको सरकारको मुख्य काम भएको भट्टराईले स्पष्ट पार्नुभयो ।

मुलुकमा बढेको नैराश्यता चिर्न प्रचण्ड नेतृत्वको सरकारले नसकेको पनि उहाँले बताउनुभयो । प्रचण्ड एकल ढङ्गले अघि बढेकाले सरकार फेरबदल गर्न बाध्य बन्नु परेको उहाँले प्रस्ट्याउनुभयो ।

मुलुकको राजनैतिक परिवर्तन एमाले र कांग्रेस मिलेर मात्र सम्भव भएको बताउँदै भट्टराईले बताउनुभयो । कांग्रेस र एमालेको प्रयास मुलुकमा राजनैतिक स्थायित्व कायम गर्ने तर्फ केन्द्रित भएको भट्टराईको भनाइ छ ।

नयाँ सरकार निर्माण हुन साथ मुलुकका आर्थिक सूचकमा सुधार हुन् थालेका बताउँदै उहाँको नयाँ सरकार गठनले सकारात्मक प्रभाव पारेको बताउनुभयो । सेयर बजारमा देखिएको सुधारले पनि लगानीकर्तालाई उत्साहित बनाएको उहाँको भनाइ छ ।

मित्र राष्ट्रसँग असल सम्बन्ध कायम राख्नु पर्ने बताउँदै उहाँले नजिकको छिमेकीसँग केही सल्टाउनु पर्ने विषय रहेको बताउनुभयो । ‘भारतसँग हाम्रो समस्या छ, सीमा, सुरक्षा र सन् १९५० को असमान सन्धि लगायतका विषय सल्टाउनु पर्ने छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेकपा एमाले सिन्धुलीका इञ्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्य गणेश पहाडी, कमलजंग राई, सुवास देवकोटा, उमा कोइराला, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ लगायतको कार्यक्रमका सहभागिता थियो ।