जनता टाइम्स

६ भाद्र २०८१, बिहीबार १७:४०

५१ प्रतिशत महिला सहभागिताबारे प्रधानमन्त्री ओलीको जवाफ : यो एउटाले गर्ने, अर्कोले हेर्ने विषय होइन


काठमाडौं, भदौं ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गरेर महिलाको सहभागिता ५१ प्रतिशत पुर्याउनेबारेमा संसद्‌ले आँट गर्न सक्नुपर्ने प्रष्ट मान्यता अघि सार्नुभएको छ ।

संविधान लागू भएपछिका ८ वर्षको अनुभव र अबको आवश्यकताका आधारमा संविधान संशोधन हुने भन्दै प्रधानमन्त्री ओलीले यसका लागि सरकारकोमात्रै नभएर सिंगो संसद्‌कै आँट आवश्यक हुने बताउनु भयो ।

बिहीबार प्रतिनिधिसभामा सांसद नारायणी शर्माले राखेको संविधान संशोधन गर्दा महिला सहभागिता ५१ प्रतिशत पुर्याउने विषयमा सरकारले आँट गर्न सक्छ ? भन्ने प्रश्नको जवाफमा उनले महिला सहभागिता ५१ प्रतिशत पुर्याउन पहल गर्ने विषय एउटाले गर्ने, अर्कोले हेरेर बस्ने विषय नभएको बताउनु भयो ।

‘यसकालागि सरकारको मात्रै होइन, सिंगो संसद्को पनि आँट चाहिन्छ । यो विषय एउटाले आँट गर्ने, अर्कोले हेरेर बस्ने विषय होइन, यो सबै मिलेर आँट गर्नुपर्ने विषय हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।