जनता टाइम्स

८ भाद्र २०८१, शनिबार १९:३६

पुरातात्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण सबैको दायित्व हो : पूर्वराष्ट्रपति भण्डारी


भक्तपुर, भदौ ८। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण सरकारको मात्र नभई सबैको दायित्व भएको निश्कर्ष सुनाउनु भएको छ ।

भक्तपुर विकास सहयोग संघको ३० औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नु हामी सवैको जिम्मेवारी भएको बताउनु भयो ।

भण्डारीले मूर्त तथा अमूर्त कला, सम्पदाले सजिएको सांस्कृतिक रूपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित सहरको रूपमा स्थापित भएको बताउनुभयो । ‘हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

भक्तपुर विकास सहयोग संघले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै उहाँले संघले प्रकाशन गरेको खोपृङ पत्रिकामा विषय विज्ञद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । संघले गरेका कार्यबाट पर्यटन प्रवर्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा दार्शनिक एवं सांस्कृतिक चिन्तक प्राडा जगमान गुरुङ, सीमाविद बुद्धिनारायण श्रेष्ठ, संस्कृति शिरोमणि हरिराम जोशी, वरिष्ठ वाङ्मय साधन तथा भाषा सेवी तेजेश्वरबाबु ग्वंगः र वरिष्ठ गायक योगेश्वर अमात्यलाई सम्मान गर्नुभएको थियो ।