जनता टाइम्स

९ भाद्र २०८१, आईतवार ००:२१

सुनकोशी दुर्घटनामा बेपत्ता हुने तीनै जना भक्तपुरका, हलेसी दर्शन गरेर फर्किदा नदीमा खस्यो कार


सिन्धुली, भदौ ९ । खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनै जना भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी रहेको खुलेको छ ।

नदीमा बेपत्ता हुनेहरूमा गाडीका चालक सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीयका अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपती घाइते हुनुभएको छ ।

कक्षपती गाडीबाट हामफालेर बाँच्न सफल हुनुभएको हो । सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेका अनुसार कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । गाडीमा चार जना यात्रु सवार रहेको र दुर्घटनाबारे घाइते यात्रु कक्षपतीले नै प्रहरीलाई जानकारी दिनुभएको थियो ।

खोटाङको हलेसीबाट फर्किएको गाडी आफै अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल सुनकोशी नदीमा खसेको हो । बेपत्ता गाडीका यात्री हलेसी दर्शन गरेर फर्किएको प्रहरीको भनाई छ । बेपत्ताको खोजबिनका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ । बेपत्ताको खोजीमा दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय खटिएका छन्।

गोताखोरको टोलीले सुनकोशी नदीभित्र बेपत्ता गाडी भेटेर त्यसलाई निकाल्न टुचन लगाएको र जेसीवी मगाएर नदी बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै रहेका गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वलाप्रसाद न्यौपानेले गाडीमा टुचन अड्काएर राखिएको र टुचन छोटो भएपछि थप टुचन मगाइएको बताउनु भयो ।