जनता टाइम्स

९ भाद्र २०८१, आईतवार ००:५५

ममताका श्रीमान नरेशले किनेका थिए तीनवटा चक्कु र सरसफाइका सामाग्री, यस्तो छ अदालतमा पेश भएको प्रमाण


भर्जिनिया अमेरिका, भदौ ९ । भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता भट्ट काफ्लेका श्रीमान नरेश भाट (भट्ट)को मुद्दामा नयाँ विवरणहरु आएका छन् ।

प्रिन्स विलियम काउन्टीका अभियोजकले शुक्रबार अदालतमा थप विवरणहरु दिनुभएको हो । अभियोजकले नरेशले आफ्नो टेस्ला बेचेको, सुटकेसहरू प्याक गरेको र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्नेबारे अरूसँग कुरा गरेको विवरणहरु अदालतमा पेश गरेको हो । नरेशले भाग्ने प्रयास गरिरहेको पनि अधिकारीहरुले बताएका छन ।

नरेशलाई आफ्नी श्रीमती बेपत्ता सम्बन्धमा शव लुकाएको अभियोग लगाउनु अघि जम्मा गरिएका प्रमाणका नयाँ विवरणहरू प्रस्तुत गर्दै अभियोजकले घरमा रगतका टाटा फेला पारेको बताएका छन् । तर यो ममता काफ्लेसँग सम्बन्धित भए नभएको भने अझै पुष्टी भएको छैन । नरेशले जुलाई ३० मा तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको छ ।

अनुसन्धानकर्ताहरुले अझै २ वटा चक्कुहरु फेला पारेका छैनन् । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् । नरेशले आफू अपराधमा संलग्न भए नभएकोबारे केहीपनि स्वीकार वा अस्वीकार गरेका छैनन् । शुक्रबार अदालतमा नरेशले बोलेको शब्द केबल आफू अंग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्नेमात्र थियो । अदालतले नियुक्त गरेको दोभाषेले अनुवाद उपलब्ध गराएका थिए ।

नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना रहेको अभियोजकले बताएका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ । अदालतमा नरेशको अर्को उपस्थिति सोमबारका लागि तय भएको छ । अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा उनी बेरोजगार थिए । अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ ।

प्रहरीले बिहीबार बिहान नरेशलाई पक्राउ गरेपछि विना धरौटी हिराशतमा राखिएको छ । घरमा रातभर खानतलासीपछि बिहीबार विहान नरेशलाई ममता बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरिएको थियो । अधिकारीहरूले नरेशलाई बिहान पौने ११ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।

ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

अहिलेसम्म ममताको अवस्था अज्ञात छ तर प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता हराएको जानकारी दिएका थिए ।

नरेशलाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको थियो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

अदालतमा प्रहरीले पेश गरेको कागजातमा ममताको शव घरभित्रै रहेको र नरेशले घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको उल्लेख गरिएको छ । यस्तै नरेशले किनेका तीनवटा चक्कुमध्ये २ वटा फेला नपरेको जनाइएको छ । अनुसन्धानकर्ताहरुले मास्टर बेडरूम र बाथरुममा रगतका टाटाजस्ता देखिने प्रमाणहरु पनि फेला परेको अभियोग पत्रमा ल्लेख छ ।