जनता टाइम्स

९ भाद्र २०८१, आईतवार २३:३८

बिशेष कार्यक्रमसहित तीन दिनसम्म संविधान दिवस मनाउने सरकारको निर्णय, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन


काठमाडौं, भदौ ९ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षाेल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतवार बसेो बैठकले संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रिय रुपमा मनाउन आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ ।

असोज २ गते काठमाडौँको नारायणहिटी (दरबारमार्ग) मा साङ्गीतिक महोत्सव (नेसनल डे कन्सर्ट) र दिवसका दिन असोज ३ गते काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ । यस्तै असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, सार्वजनिक सवारी साधनहरुमा राष्ट्रिय झण्डा फहराउन आव्हान गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षबाट संविधान प्राप्त भएकाले संविधान दिवसलाई राज्यस्तरबाट मनाइनुका साथै सबै जाति, समुुदाय र भूूगोलका जनताले स्वतःस्फूर्तरुपमा भव्यरुपमा दिवस मनाउनु पर्ने बताउनुुभयो । उहाँले सामाजिक जीवनका सबै क्षेत्र परिचालित हुने गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यक्रम हुनुुपर्ने धारणा पनि राख्नुभयो ।

‘संविधान दिवस देशको सबैभन्दा ठुलो चाड हो । यो कुनै जाति, समुदाय र भूगोल विशेषको होइन, सिङ्गो देशको वार्षिक मेला हो । त्यसअनुसार मनाउने तयारी गर्न म सबैलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संबिधान दिवसको मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, काठमाडौँ उपत्यकास्थित नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव, सदस्य–सचिव रहनुुभएको छ ।

दिवसका लागि मूल समारोह समितिका साथै प्रचार–प्रसार, बृहद् जनसहभासगितासहित राष्ट्रिय गीतहरुको कन्सर्ट कार्यक्रम, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, ग्राउण्ड, कवाज तथा व्यायाम व्यवस्थापन, मञ्च सजावट तथा व्यवस्थापनका लागि उपसमिति पनि गठन गरिएको छ ।