काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्ने हुनुभएको छ ।
जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग मिलेर भदौ १४ गते शुक्रवार ध्यान शिविर गर्न लागेको हो । प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने ध्यान शिविरमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित दुवै सदनका सांसदहरूको सहभागितामा रहने छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा हुने सो कार्यक्रममा सहभागी हुन सांसदहरूलाई योगाभ्यास गर्न सहज हुने खुकुलो पोसाक लगाएर आउन आयोजक जीवन विज्ञान प्रतिष्ठानले आग्रह समेत गरेको छ । कार्यक्रमपछि आयोजकले सांसदहरूलाई माछा मासु बिनाको सात्त्विक भोजनको पनि व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।
‘व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दका असीमित क्षमताहरू योग, ध्यान, साधनाका वैज्ञानिक र मनोविज्ञानका गहिरा सूत्रको प्रयोगबाट प्रकट गर्न सरकारका विभिन्न अङ्ग, निकाय तथा गैरसरकारी सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै आएको जीवन विज्ञानले नेपाली माटोमा जन्मिएर हालसम्म विश्वका ७० भन्दा बढी मुलुकहरूमा वैज्ञानिक अध्यात्मको प्रयोगसम्बन्धी सेवा विस्तार गरिसकेको छ ।
यसै सिलसिलामा संसद् सचिवालयसँगको सहकार्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता तथा सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभा अध्यक्षज्यूको समेत उपस्थितिमा २०८१ भदौ १४ गते शुक्रबार दुवै सदनका माननीयज्यूहरूका लागि स्वजागरण कार्यक्रम तय भएको हुँदा उक्त कार्यक्रममा यहाँको सहभागिताका लागि हार्दिक अनुरोध छ,’ आयोजकले सांसदहरूलाई पठाएको पत्रमा भनिएको छ ।
सो कार्यक्रम शुक्रवार बिहान ८ देखि साढे ११ बजेसम्म हुने छ ।
प्रतिक्रिया दिनुहोस्