जनता टाइम्स

१२ भाद्र २०८१, बुधबार १०:१८

अमेरिकामा अर्काे दुःखद घटना, टेक्सासको ह्युष्टनमा नेपाली बिद्यार्थी मुना पाण्डेको गोली हानी हत्या


टेक्सास, (अमेरिका) भदौ १२। टेक्सासको ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरिएको छ । पाण्डे गोली लागेको अवस्थामा मृत भेटिएकी हुन ।

पाण्डे सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा पाण्डे मृत अवस्थामा भेटिएको थियो । भोजपुरकी पाण्डे ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ बर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन ।

नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार काठमाडौंमा रहेकी मृतक पाण्डेकी आमा अनिता पाण्डे अधिकारीलाई घटनाबारे जानकारी दिइसकिएको छ । मुना परिवारमा एकमात्र सन्तान हुन ।

मृत भेटिएकी नेपाली विद्यार्थी मुनालाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काउनु भएको थियो । पारिवारिक स्रोतका अनुसार श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर छोरीलाई हुर्काउनु भएको थियो ।

५ बर्षदेखि एक्लै बसेर अनिताले मुनालाई हुर्काएकोमा २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका आएकी थिइन् । पारिवारिक श्रोतका अनुसार मुना सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् ।

मुनाको एकजना श्वेत अमेरिकनसँग प्रेमसम्बन्ध रहेको पारिवारिक श्रोतले जनाएको छ । मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियो पनि आमा अनितालाई पठाउने गरेको तर बीचमा भने उनीहरुबीच सम्बन्ध त्यती राम्रो नभएको समेत मुनाले आमालाई बताएको जनाइएको छ ।