काठमाडौं, भदौ १२ । उमेरहदका कारण अवकाश नगर्न माग गर्दै नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवाली र भीमप्रसाद ढकालसहित ६ जना उच्च अधिकृतहरू अदालत पुग्नुभएको छ ।
एआइजीद्वय ज्ञवाली र ढकालसहितका उच्च अधिकारीहरुले सर्वाेच्च अदालतमा रिट दर्ता गराउनु भएको हो । दर्जागत उमेरका कारण अवकाश रोक्न माग गरेर रिट हाल्नेमा एआईजीद्वय ज्ञवाली र ढकाल, प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेल हुनुहुन्छ । त्यस्तै प्रहरी निरीक्षक (इन्स्पेक्टर) नागेन्द्र ठाकुरले पनि रिट दायर गर्नुभएको हो ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा जान्छन । इआइजी ज्ञवाली ५६ वर्षे उमेर हद पूरा गरेर भदौ २५ मा अवकाशमा जाँदैछन । डीआईजीहरु राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि छोटो समयमा अवकाशमा जान लाग्नुभएको हो । अर्का एआईजी रामदत्त जोशी असोज १६ मा उमेरहदका कारण अवकाश हुन लाग्नुभएको छ ।
यसअघि एसएसपी जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो । सर्वाेच्चका न्यायाधीश हरि फुयाँलले तत्काल ३० वर्षे कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । त्यसबारे असोज १० मा सुनुवाइ हुँदै छ ।
यस्तै सशस्त्रका डीआईजी अभिकुमार खत्रीसहतिका १२ जनाले पनि ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गर्नुभएको छ । सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको रिटमा न्यायाधीश सारंगा सुवेदीको इजलाशले कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्