जनता टाइम्स

१३ भाद्र २०८१, बिहीबार १५:०९

गण्डकीमा कांग्रेस-एमालेबीच जुट्यो सहमति, ४ मन्त्रीसहित एमाले सरकारमा जाने


पोखरा, भदौ १३ । डेढ महिना गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । दुई दलबीच सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो । कांग्रेस–एमालेबीच १० मन्त्रालय बनाएर बाँडफाँड गर्ने कि ९ बनाउने भन्ने विवादले रहँदा एमाले सरकारमा सहभागी भएको थिएन ।

कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भएको छ ।

‘९ मन्त्रालय बनाउने विषयमा सहमति भएसँगै अब एमालेबाट ४ जना मन्त्री बन्ने भएका छन । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र जितेका राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्रीमा यथावतै राखेर कांग्रेस-एमालेबीच ४-४ मन्त्रालय बनाउन प्रस्ताव भए पनि मन्त्रालय धेरै नबनाउने एमालेको जोड थियो । बरु मन्त्रालय फुटाएर संख्या बढाउने तर फणीन्द्र र मनाङेलाई नहटाउने मुख्यमन्त्री पाण्डेले अडान लिनुभएको थियो ।

एमाले सुरुमा ७ मन्त्रालयबाट बढाउन नहुने अडानमा थियो तर मुख्यमन्त्री पाण्डेले फणीन्द्र र मनाङेलाई नहटाउने भएकाले २ मन्त्रालय लिने भए त्यो सम्भव हुने जवाफ दिनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले फणीन्द्र र मनाङेलाई कुनै पनि हालतमा नहटाउने अडान लिनुभएको थियो । मुख्यमन्त्री पाण्डेको अडानले एमाले लचिलो भएको हो । मुख्यमन्त्री पाण्डेले एमालेबाहेक नै नीति तथा योजना आयोगमा नेसपा र राप्रपाबाट सदस्य नियुक्त गरेर पूर्णतासमेत दिनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले पार्टीमा शेखर कोइराला र गगन थापा समूहलाई समेत मिलाउन कांग्रेसबाट थप एक जना मन्त्री बनाउन चाहनुहुन्थ्यो । मन्त्रालयको संख्या ९ बाट नबढ्ने भएपछि अब शेखर-गगन समूहबाट नबन्ने देखिएको छ । ९ मन्त्रालयमा सहमति भएसँगै अब सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने योजना छ । मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय बनाउने तयारी रहेको एक मन्त्रीले बताए ।

अहिले कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ छन् । फणीन्द्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक मन्त्री छन।

एमाले संसदीय दल तथा नेता खगराज अधिकारीले मुख्यमन्त्रीसँग कुनै विषयमा अहिले असहमति नरहेको र छिट्टै सबै टुंगिने बताउनु भयो । एमालेले भूगोल, पार्टीभित्रको समूह र महिला पुरुषको सन्तुलन मिलाएर मन्त्री छान्ने तयारीमा नेता अधिकारी छन् ।

संविधानअनुसार कुल सांसदको २० प्रतिशत मन्त्रालय बनाउन सकिने हुँदा ६० सदस्यीय गण्डकी प्रदेश सभामा १२ जनासम्म मन्त्री बनाउन सकिन्छ । यसअघि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा बनाइएको १२ वटा मन्त्रालयलाई खगराज आएपछि ७ वटामा झार्नुभएको थियो ।