काठमाडौं, भदौ १३ । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा अमेरिका–बेलायतसहित ९ वटा देश र युरोपियन युनियनले स्वागत गरेका छन । ती देशहरुले संयुक्त विज्ञप्ति जारी गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकोमा स्वागत गरेका हुन ।
केही दिनअघि मात्रै बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन नेपालको संघीय संसदको दुवै सदनले पारित भएको थियो । सो बिद्येयलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । बिद्येयक पारित भएकोमा स्वागत गर्नेमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड र युरोपियन युनियन रहेका छन ।
बिज्ञप्तिमा उक्त विधेयकको स्वागत गर्दै आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने जानकारी पनि दिइएको छ । ‘निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरुपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनेछ,’ वक्तव्यमा भनिएको छ ।
९ देश र युरोपियन युनियनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता आवश्यकताहरू छन भन्ने विषयमा समेत नेपाल सरकारबाट जान्न तत्पर रहेको जनाएका छन ।
‘नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको छ’, उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्