जनता टाइम्स

१४ भाद्र २०८१, शुक्रबार ०८:४३

पाँचथरको डाँडागाँउको विस्फोटमा घाइते दाजु-बहिनीकै गयो ज्यान


फिदिमभदौ १४ । पाँचथरको फालेलुङ गाँउपालिका ५ डाँडागाँउको शक्तिशाली बिस्फोटमा परी गम्भीर घाइते भएका एकैघरका दुवै बालबालिकाको मृत्यु भएको छ।

बिस्फोटमा परी दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको हो। दिप्सनको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा गएराती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। प्रिन्साको उपचारका लागि झापा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय आईतराज केरुङको घरमा बिहिबार दिउँसो भएको शक्तिशाली बिस्फोटमा परी चार बालबालिका घाइते भएका थिए। घाइतेमध्ये दिप्सन र प्रिन्साको अवस्था गम्भीर रहेपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो।

बिस्फोटबाट घाइते भएका ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवन राईको भने पाँचथर अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था समान्य छ।
घटनामा परी सामान्य घाइते भएका दीपक राईका ७ वर्षीय छोरा दिपसन राईको स्थानीय प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन । घटनास्थलबाट शंखास्पद बस्तुसमेत प्रहरीले फेला पारेको छ। ‘होममेड ग्रिनेट’ विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त क्षेत्रीले सो घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।