काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई बधाई दिँदै राज्यका हरेक निकायलाई जबाफदेही बनाउन सुझाउनु भएको छ ।
नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले यसमा कर्मचारी प्रशासनको ठुलो भूमिका हुने उल्लेख गर्नुभएको छ । गृहसचिवको रुपमा कार्यरत अर्याललाई बिहीवार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गरेको हो ।
मुख्यसचिव नियुक्त गर्ने निर्णयपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन, निजामती प्रशासन स्थायी सरकार हो। हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जबाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ ।’
प्रधानमन्त्री ओलीले हरेक निकायको समस्या समाधान र जवाफदेहीतातिर ध्यान दिन सुझाउनु भएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरू किन ढिलाइ भइरहेका छन ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ। ‘
प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कर्मचारी प्रशासनको सफलताले नागरिकमा सन्तुष्टि आउने पनि बताउनु भएको छ । ‘हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती, शिक्षक, सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ। यस कामका लागि सफलता मिलोस भन्ने कामना गर्दछुु,’ ओलीले शुभकामना सन्देशमा भनेका छन।
प्रतिक्रिया दिनुहोस्