जनता टाइम्स

१४ भाद्र २०८१, शुक्रबार ११:००

नेकपा एसमा लोकप्रिय नेताको धमाधम कत्लेआम : रामकुमारी र बिरोधलाई छेक्न जारी गरियो पदाधिकारी मात्रै स्थायी कमिटी रहने फर्मान


काठमाडौं, भदौ १४ । आफूले मनोनीत गरेको भारदारी सभाका सदस्यमार्फत उपाध्यक्षमा हराइएकी नेकपा एकीकृत समाजवादीकी चर्चित नेताद्वय रामकुमारी झाँक्री र बिरोध खतिवडामाथि अपमानको श्रृंखला सुरु भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले पार्टी कार्यकर्ताबीच लोकप्रिय रहेका दुवै नेतालाई स्थायी कमिटीमा समेत छेकेर अपमानको श्रृंखला अघि बढाउनु भएको हो । नेकपा एसका एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार अध्यक्ष नेपाल र महासचिव भुसालले अहिले नछेके आगामी महाधिवेशनमा रामकुमारी र बिरोध मिलेर आफूहरुलाई धुलो चटाउने निश्कर्षसहित स्थायी कमिटीबाट समेत बाहिर पार्नुभएको हो ।

सवैभन्दा लोकप्रिय मत ल्याएर पोलिटब्यूरोमा बिजयी हुने खतिवडा र झाँक्री प्रभावशाली नेता भएको कारण स्थायी कमिटीमा राख्दै पर्ने भएपछि छेक्न पदाधिकारी मात्रै रहने निर्णय अध्यक्ष नेपालले गर्नुभएको ती सदस्यले बताए । सोही षडयन्त्रअनुसार नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने निर्णय गरेको छ ।

बिहीबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरु रहेको स्थायी कमिटी बनाउने निर्णय गरेको हो । बिहीबार घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरिएकाले एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको छ ।

गठन भएको तीन बर्ष भएको भएपनि दशौं राष्ट्रिय महाधिवेशनको नाटक मञ्चन गरेर अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव भूसालले आफै घोषणा गरी केन्द्रीय कमिटीमा आफ्ना आसेपासेलाई मात्र मनोनीत गर्नुभएको थियो । सोही मनोनीत भारदारी सभाको चुनावले खतिवडा र झाँक्रीलाई हराइएको हो ।