न्यूयोर्क, (अमेरिका) भदौ १५ । जुलाइ महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा अभूतपूर्व रेकर्ड कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएअनुसार जुलाईमा १७ सय ८८ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका छन ।
यो संख्या चालू आर्थिक बर्षकै सबैभन्दा धेरै हो । ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार बिद्यार्थी भिसा पाउनेहरुका ६३ जना डिपेन्डेन्टहरुले पनि एफ टु भिसा पाएका छन । योसँगै चालु आर्थिक बर्षको १० महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या १० हजार ९ सय ८८ पुगेको छ ।
गत जुन महिनामा पनि अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा नयाँ रेकर्ड कायम भएको थियो । जुन महिनामा १७ सय जना नेपाली विद्यार्थी र ७६ जना उनीहरुका डिपेन्डेन्टहरुले अमेरिकाको भिसा पाएका थिए । यो संख्या चालु आर्थिक बर्षको ९ महिनामा सबैभन्दा धेरै थियो । जुलाईमा यो रेकर्ड तोडिएको हो ।
ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकअनुसार मे महिनामा सन सन २०२४ को जनवरीयताकै सबैभन्दा धेरै १५ सय ८ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए भने उनीहरुका ६० जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाएका छन ।
यस्तै जनवरीमा ११ सय एक जना, फेब्रुअरीमा २० सय एक जना, मार्चमा ३ सय ९५ जना र अप्रिलमा १३ सय ९९ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । अमेरिकाको आर्थिक बर्ष २०२४ को सुरुको ३ महिना अर्थात सन २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरको अवधिमा २८ सय ९६ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए ।
यस्तै अक्टोबरमा ५०८, नोभेम्बरमा ७८४ र डिसेम्बरमा १६०४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । त्यो बाहेक उनीहरुका १११ जना डिपेण्डेटहरुले पनि अमेरिकाको एफ टु श्रेणीको भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्