जनता टाइम्स

१५ भाद्र २०८१, शनिबार १६:२९

‘अष्ट आमा’ ले नै कम्मर मर्काएपछि एमाले मुख्यालयमा दिल खोलेर नाचे पद्मा अर्यालदेखि लालबाबुसम्मका नेता-कार्यकर्ता (फोटोफिचर)


काठमाडौं, भदौ १५ । शनिवार नेकपा एमालेको केन्द्रीय कार्यालयको दृष्य निकै फरक देखियो । नेताहरु भाषण गर्न र कार्यकर्ता सुन्ने काम भइरहने केन्द्रीय कार्यालयको हल शनिवार फरक दृष्य देखियो ।

तीजको अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको तीज महोत्सवमा नेताहरु दिल खोलेर नाचे । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पदमाकुमारी अर्यालदेखि सम्पर्क मञ्चका इञ्चार्ज रहनुभएका स्थायी कमिटी सदस्य लालबाबु पण्डितको नाचले सवैको ध्यान खिच्यो ।

उमेरले निकै पाको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसमेत छमछमी नाच्न थाल्नुभएपछि सहभागी नेतादेखि कार्यकर्ता सवै नाच्न हौसिएका थिए । नेताहरुको उत्साहलाई साथ दिँदै कलाकार नभए पनि नाँचगानमा कुनै कलाकारभन्दा कम नरहेका एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले नाचगानसहित सहजीकरण गर्नुभयो ।

दोलखाली र देशैभरका सम्पर्क समन्वय कमिटीका नेता कार्यकर्ताबीच ‘भुईं बस डान्स’ को उपनामले समेत चिनिने बस्नेतले उपाध्यक्ष शाक्यको नाचमा उत्साहित बनेर सवैलाई नाच्न प्रेरित गर्नुभएको थियो । अष्ट आमाको नाचपछि लालबाबु पण्डितसमेत कम्मर मर्काई मर्काइ नाच्नुभयो । उपस्थित महिला नेता कार्यकर्ता पनि दिल खोलेर नाचेका थिए ।