बाँके, भदौ १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफू रहँदासम्म पार्टीको नेतृत्व अरुलाई नछाडने घोषणा गर्नुभएको छ ।
पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टर बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दहालले ‘पार्टी अध्यक्ष पद कसैलाई टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको’ भन्दै आफू हरँदासम्म नछाडने निर्णय सुनाउनु भएको हो ।
दाहालले पार्टीमा सिस्टम बनाएर मात्रै उत्तराधिकारी नेता बनाइने तर अहिलेसम्म त्यो योजना नरहेको खुलाउनु भयो । ‘म नै सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने पनि छैन तर पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु,’ दाहालले भन्नुभयो ।
आफूलाई अध्यक्ष भइरहने रहर नभएको तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको पनि उहाँले बताउनु भयो । उहाँले कार्यकर्ताले आफ्नो नेतृत्व चाहिरहेको जिकिर पनि गर्नुभयो । ‘अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ,’ दाहालले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्