जनता टाइम्स

१७ भाद्र २०८१, सोमबार १३:४४

पद्मा जिसीको नेतृत्वमा गण्डकी सरकारमा एमाले सहभागी, चार मन्त्री नियुक्त


पोखरा, लभदौ १७ । नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा सहभागी भएको छ । केन्द्रीय नेतृत्वले सहमति गरेको २ महिनापछि एमाले जीसीको नेतृत्वमा ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको हो ।

एमालेका तर्फबाट पद्मासहित बागलुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बन्नुभएको छ । पार्टीबाट सरकारको नेतृत्व् गर्नुभएकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै एमालेका केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त हुनुभएको छ । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकीमा ९ मन्त्रालयको टुंगो लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्त गरी सरकारलाई पुर्णता दिनुभएको हो भने मन्त्रालयसमेत हेरफेर गर्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका पाठकले पाउनु भएको छ । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री बन्नुभएको छ ।

लामो समयदेखि भइरहेको छलफल र असहमतिलाई पार गर्दै आइतबार ९ मन्त्रालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । गण्डकी सरकारमा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा हुनुहुन्छ ।