जनता टाइम्स

१८ भाद्र २०८१, मंगलवार १६:०५

बागलुङमा खाली भयो माधव नेपालको नेकपा एस, हट्यो पार्टी कार्यालयको साइनबोर्ड


बागलुङ, भदौ १८ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सिंगो जिल्लामा रित्तो भएको छ ।

माधव नेपालको भ्रममा लागेर पार्टी बिभाजनतिर लागेकोमा पछुतोसहित केही दिनअघि नेकपा एमालेमा समाहित भएको सो पार्टीको आजबाट पार्टी कार्यालयको साइनबोर्ड समेत हटेको हो ।

बागलुङमा रहेका सो पार्टीका नेता–कार्यकर्ता सवै एमालेमा समाहित भएपछि आज पार्टी कार्यालयको बोर्ड हटेको छ । यो कामसँगै बागलुङले नेकपा एसको साइनबोर्ड समेत नरहेको जिल्लाको इतिहास बनाएको छ ।

‘बागलुङबाट नेकपा एकीकृत समाजवादी खाली भयो । हामी सवै एमालेमा समाहित भएकोले आजबाट जिल्लालाई नेकपा एस मुक्त जिल्ला घोषणा गरेर पार्टी कार्यालयको साइनबोर्ड हटाइएको छ,’ एमाले प्रवेश गरेपछि साइनबोर्ड हटाउन गएका सो पार्टीका नेताहरुले भने ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटी भदौ १३ गते नेकपा एमालेमा समाहित भएको थियो । केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापाको नेतृत्वमा जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र प्रदेशमा रहेका जिल्लाका नेता–कार्यकर्ताहरु सवै एमालेमा समाहित भएपछि भदौ १३ गतेबाट बागलुङमा नेकपा एस खाली भएको थियो । आज कार्यालयको साइनबोर्ड समेत हटाइएको हो ।