जनता टाइम्स

१८ भाद्र २०८१, मंगलवार २२:५३

संविधानले महिलालाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी : राष्ट्रपति


काठमाडौं, भदौ १८ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले प्रदान गरेका महिला हकअधिकारको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनु भएको छ ।

प्रथम महिला सविता पौडेलले मंगलवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो । उहाँले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच विस्तारै विकास हुँदै गए पनि अधिकारको कार्यान्वयनमा अझै जोड दिनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाको अवस्था अब पहिलोको जस्तो छैन भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ, महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदैछ तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हकअधिकारको प्रभावकारी कार्यान्वयनका लागि भने अझै क्रियाशील हुनुपर्ने आवश्यकता छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्वर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्री, महिला सांसद, विभिन्न ओहोदामा रहनुभएका उच्चपदस्थ महिला अधिकारीको उपस्थिति रहेको थियो ।