मोरङ, भदौ १९ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित केराको बगानभित्र मृत फेला परेका दुई नाबालिकाको हत्या आफ्नै आमाले गरेको तथ्य खुलेको छ ।
सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरू एक वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्की गत शनिबार दिउँसो मृत फेला प्रहरीले फेला पारेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नै उनीहरूलाई आमा अस्मिता पौडेल (कार्की) ले नै विष खुवाएर मारेको तथ्य खुलेको हो ।
छोरीहरू मृत फेला परे पनि आमा अस्मिता भेटिएकी थिइनन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार घटनापछि फरार अस्मितालाई झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्ग नजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला बुधबार बिहान ४ः३० बजेतिर फेला पारिएको थियो ।
कार्कीका अनुसार शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा भेटिएकी अस्मितालाई विराटनगर ल्याएर उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ ।
अस्मिताले सँगै लिएर गएका २ नाबालिका छोरी मृत फेला परेपनि स्थानीय र प्रहरीले निरन्तर खोजी गर्दासमेत उनी भेटिएकी थिइनन । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भइ सुन्दरहरैँचा–७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन । आइङ्का र अपर्णा अस्मिता एवं अर्जुनका छोरीहरू हुन ।
आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति अर्जुनसँग विवाद भएपछि शुक्रबार साँझ कलिला नानीहरू लिएर बेपत्ता भएकी अस्मिताले त्यही रात विष खुवाएर दुवै जनालाई मारेपछि आफू फरार भएकी प्रहरीले बताएको छ ।
नाबालिकाको शव भेटिएपछि घटनास्थल पुगेर एसपी कार्की आफैं अनुसन्धानमा खटिनुभएको थियो । घटनाबारे जानकारी दिँदै एसपी कार्कीले आमा अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट ४ दिन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको बताउनु भयो ।
‘घटनाको ५ दिनपछि अस्मितालाई सडकमा अस्वस्थ अवस्थामा फेला पारिएको हो । शारीरिक अवस्था निक्कै कमजोर छ । उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ज्यान मुद्दामा अनुसन्धान पनि अघि बढाइएको छ,’ एसपी कार्कीले भन्नुभयो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अस्मितालेपति अर्जुनलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको फेला परेको छ ।
अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरूको शवनजिकै फेला परेको थियो । प्रहरीको अनुसन्धानमा पति पति–पत्नीबीचको झगडाकै कारण दुई छोरीहरु मारिएको तथ्य खुलेको छ । प्रहरीसँगको बयानमा अस्मिताले आफूलाई पतिले नताव दिएपछि यस्तो काम गरेको बताएकी छन ।
‘मलाई पतिले धेरै तनाव दिन्थे । मारेर गाड्छु भन्न थाले। ‘टर्चर’ सहन सकिनँ । त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ । छोरीहरूलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन,’ अस्मिताले प्रहरीसँगको बयानमा भनेकी छन । उनले सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि अब चाहिँ मर्छु होला भनेर छोरीहरूलाई समेत खुवाएको बताएकी छन्।
‘सुरुमा मैले विष खाएँ । त्यसपछि छोरीहरूलाई खुवाएँ। उनीहरू मरे । तर, म चैं मरिन,’ अस्मिताले भनेकी छन, ‘यस्तो बाटो अपनाउन मन थिएन । घरमा कहिल्यै मेलमिलाप भएन । मलाई लामो समयदेखि ‘टर्चर’ थियो। सहन सकिनँ ।’ आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएको र अति भएपछि यो बाटो अपनाएको उनको बयान छ ।
संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिता र अर्जुनबीच २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस्