जनता टाइम्स

२० भाद्र २०८१, बिहीबार १६:०६

पशुपतिनामा तिजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खुल्ला


काठमाडौं, भदौ २० । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा काठमाडौंको पशुपतिनाथमा तयारी अन्तिम चरणमा पुगेको छ । पशुपति विकास कोषले बिहीबार पत्रकार सम्मेलन गरी तिजका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

कोषका सदस्य सचिव मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्थापन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले दर्शनार्थीको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिने जानकारी दिनुभयो । पशुपतिको मन्दीर प्रांगण पुग्नका लागि चारतिरबाट रूट तय गरिएको छ ।

एउटा गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको उहाँले प्रष्ट पार्नुभयो ।

त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी पनि दिनुभयो ।

सदस्य सचिव थापाका अनुसार पिङ्गलास्थानबाट बनकाली, चारशिवालय-पञ्चदेवलपूर्व-बजघर-दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तिलगंगा राममन्दिर हुदै बागमती नदी पूर्वकिनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्वढोकाबाट प्रवेश गरी पूर्वढोकाबाटै बाहिरिने व्यवस्था पनि मिलाइएको पत्रकार सम्मेलनमा थापाले बताउनु भयो । श्रीपशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइने उहाँले बताउनु भयो ।

उहाँले पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइने बताउनु भयो । पशुपतिनाथको दर्शन गरेर फर्कंदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तल अगाडि साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा चनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने जाकारी दिनुभयो ।