जनता टाइम्स

२० भाद्र २०८१, बिहीबार १९:०४

प्रमुख प्रशासकीय अधिकृत काफ्लेमा अनुशासनहीनता देखिएका कारण अमेरिका भ्रमण रद्द गरियो : मन्त्री गुप्ता


काठमाडौं, भदौ २० । संघीय मालिमा तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकाकि प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेमा कर्मचारी अनुशासनहीनता देखिएका कारण कारवाही स्वरुप अमेरिका भ्रमण रद्द गरिएको जानकारी दिनुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत काफलेको अमेरिका भ्रमण रोकेको विषयमा संसदीय समितिमा प्रश्न उठेपछि मन्त्री गुप्ताले यस्तो जानकारी गराउनु भएको हो ।

संसदीय समितिमा बोल्दै मन्त्री गुप्ताले आफूले काफ्लेको भ्रमण रोकेको कारण खोल्नूभयो । प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई ४-५ दिनदेखि बोलाउँदा पनि मन्त्रालयमा नआएकोले  भ्रमण रद गरिएको  बताउनु भयो ।

काफ्लेले जीतपुरसिमराबाट पायक पर्ने ठाउँमा सरुवा गर्छौं भन्दा पनि नसुनेको मन्त्री गुप्ताले बताउनु भयो।

काठमाडौं बसेर पनि मन्त्रालयलाई नटेरेको भन्दै उहाँले भन्नुभयो, ‘हामीले मुद्दा पनि खेप्ने अनि विदेश पनि पठाउने भनेर एलाभेन्थ आवरमा मैले रोकेको हुँ ।’

मन्त्री गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार (१८ भदौ) भिसा पाएकी काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गर्नुभएको थियो ।

काफ्लेसहित १२ जना कर्मचारी ‘पब्लिक फिनान्सियल म्यानेजम्येन्ट’ बिषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेका थिए ।

त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुप्ताले नै विदेश जान रोक्ने निर्णय गर्नुभएको थियो । मन्त्री गुप्ताले संसदीय समितिमा मन्त्रालयलाई नटेरकाले भ्रमण रद्द गरेको जवाफ दिनुभएको हो।