जनता टाइम्स

२० भाद्र २०८१, बिहीबार २०:१४

प्रधानमन्त्री ओलीको पहिलो बिदेश भ्रमण अमेरिका, यी हुन भ्रमण टोलीका सदस्य


काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक, एक जना फोटो पक्रकार र रिपोर्टरलगायत छन् ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । महासभामा भाग लिन प्रधानमन्त्री ओली सेप्टेम्बर २१ तारिक न्यूयोर्क पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुभएको थियो । पछिल्लो पटक असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको यो नै पहिलो विदेश भ्रमण हो ।