जनता टाइम्स

२१ भाद्र २०८१, शुक्रबार २३:११

महानगरबासीलाई आतंकित बनाएको भन्दै बालेनबिरुद्ध उत्रियो कांग्रेस, अधिनायकवादी कार्यप्रति खेद ब्यक्त


काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एकलौटी सूचना जारी गरेर महानगरबासीलाई आतंकित बनाएको आरोप लगाएको छ ।

कांग्रेसको काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्य र नेतृ सिर्जना सिंहले विज्ञप्ति जारी गर्दै मेयर बालेनले कार्यपालिका बैठक वा कार्यपालिका सदस्यहरुसँग छलफल नै नगरी एकल निर्णयबाट सूचना प्रकाशित गराएको भन्दै खेद प्रकट गर्नुभएको छ ।

काठमाडौं महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरुले नागरिकको हित र आवश्यकतालाई प्राथमिकता नदिएको कांग्रेस महानगर समितिले ठहर गरेको छ । महानगरबासीको हकतिको संरक्षणका लागि यसको समस्या समाधानका लागि राज्यका तीनै अंगमा ज्ञापनसहित अनुरोध गर्ने पनि समितिले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतले नदीनालाको २० मिटर भाग छोड्नुपर्ने आदेश गरेपछि मेयर बालेनले सूचना जारी गराउनु भएको थियो । त्यस विषयमा छलफल गर्न सरकारले कार्यदल पनि गठन गरिसकेको छ ।