काठमाडौं, भदौ ३१ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भएको भन्दै पार्टीबाटै निश्काशन गर्न अध्यक्ष माधव नेपालसँग माग गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सम्मानित नेता खनालले सोमबार साँझ विज्ञप्ति जारी गर्दै उपमहासचिव चौधरीलाई नेपाली नागरिक हो भन्ने आधारसमेत सकिएको तर्कसहित निश्काशनको माग गर्नुभएको हो ।
चौधरीको एक टेलिभिजनमा दिएको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली ? भन्दै खनालले कडा आक्रोश पोखनुभएको छ ।
मेटमणि चौधरीलाई तथाकथित उपमहासचिवको संज्ञा दिँदै उनको अभिब्यक्ति आफूले सुनेको भन्दै खनालले बिज्ञप्तिमा भन्नुभएको छ, कस्तो बिचित्रको अभिब्यक्ति हो ? यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक ? यो त सोहै आना राष्ट्रिययता बिरोधी अभिब्यक्ति हो । यो देशदोही अभिब्यक्ति पनि हो । यो हाम्रो पार्टीका निम्ति त लज्जा र घृणाको बिषय पनि हो ।
यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको बताउँदै खनालले तत्काल कारबाही गर्नुपर्ने अडान राखी अध्यक्ष माधव नेपाल जोगाउने खेलमा लागेको तथ्य खोल्नुभएको छ ।
‘अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु’, खनालले विज्ञप्तिमार्फत भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्