ललितपुर, असोज १ । ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ ।
साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले मंगलवार केन्द्रीय कार्यालय पुलचोकमा प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन पश्चात् डा भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्याउने बताउनुभयो ।
‘विद्यालय, महाविद्यालय, क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो हुन्छ, यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पुर्याउँछ,’ उहाँले भन्नुभयो ।
उहाँले पठन संस्कृतिको विकास हुनु भनेको शिक्षाको विकास हुनु भएको बताउनुभयो । शिक्षा र संस्कृतिमा मुलुक समृद्ध नभएसम्म आर्थिक समृद्धिले मात्रै पर्याप्त हुन नसक्ने उहाँको धारणा थियो ।
साहित्यकार डा माया ठकुरीले साहित्यकारका लागि पुस्तक प्रदर्शनी हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । डिजिटल युगमा पुस्तक प्रदर्शनी हुनु सकारात्मक पाटो भएकाले पुस्तकको माध्यमबाट साहित्यकारको पहिचान स्थापित हुने ठकुरीको निश्कर्ष थियो ।
साझा प्रकाशनका अध्यक्ष डा विजय सुब्बाले लामो समयसम्म बजारका पसलमा आँखा नपरेका पुस्तक पनि प्रदर्शनीमा रहेको जानकारी दिनुभयो । उहाँले यो प्रदर्शनी पाठक र साहित्यकारलाई नजिक बनाउने माध्यम भएको बताउनुभयो । आर्थिक समस्याको चपेटामा रहेको साझा प्रकाशनलाई प्रदर्शनीले केही मात्रामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । पठन संस्कृति विकासका लागि आज देखि सुरु प्रदर्शनी १५ गतेसम्म सञ्चालन हुने साझा प्रकाशनका प्रशासकीय सहायक सुशील अधिकारीले जानकारी गराउनुभयो ।
साझाको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका बिक्री कक्षमार्फत २० देखि ८० प्रतिशतसम्म छुटका साथ पुस्तक बिक्री गरिने उहाँको भनाइ छ । प्रदर्शनीमा साझा प्रकाशनका दुई हजार दुई सय र अन्य प्रकाशनका गरी करिब पाँच हजार पुस्तक प्रदर्शनीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्