न्यूयोर्क, असोज ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटबार्ता निकै फलदायी र परिणाममुखी बनेको जानकारी दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीसँग भारतीय समकक्षी मोदीको गएराती भेटबार्ता भएको थियो । प्रधानमन्त्री ओली नियुक्त हुनुभएपछि यो पहिलो बिदेश भ्रमणका साथै भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेट हो ।
महासभामा भाग लिन न्यूयोर्कमा साधरणतया १० मिनेटसम्म भेटबार्ता हुने बिगतको परम्परा रहेको भएपनि नेपाल र भारतका प्रधानमन्त्रीबीच आधा घण्टा छलफल भएको थियो । सो भेट फलदायी र परिणाममुखी बनेको भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर (एक्स) मार्फत जानकारी गराउनु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँगको बार्ता वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको पनि बताउनु भएको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूयोर्कमा निकै राम्रो, फलदायी र परिणाममुखी भेट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं । हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको छ ।
प्रधानमन्त्रीद्वय ओली र मोदीबीच आज बिहान न्यूयोर्कमा भेटबार्ता भएको हो । प्रधानमन्त्री ओलीले पनि भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्