अमेरिका, असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताका लागि प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्न न्यूयोर्क आउनु भएका बेला अमेरिकामा रहेका नेपालीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सबै अधिकार सहितको नागरिकता दिनका लागि आफू प्रतिवद्ध रहेको जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले बिदेशमा रहँदा राजनीतिक अधिकार कटौती हुने तर अरु सबै अधिकार पाउने तथा यदी कुनै व्यक्ति नेपाल फर्केमा राजनीतिक अधिकारसहित सबै अधिकार प्राप्त हुने नागरिकताका लागि आफू सचेत रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले हाल प्राप्त भएको गैरआवासीय नागरिकतालाई लौरो न हतियारको संज्ञा पनि दिनुभयो ।
‘मैले गैरआवासीय नागरिकता दिँदाका बखत पनि भनेको थिएँ, साथीहरु उत्साहित हुनुभयो तर त्यो बाँदरको पुच्छर लौरो न हतियार भने जस्तै हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले एक पटकको नेपाली सँधैको नेपाली हुनका लागि नागरिकताको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले गैरआवासीय नागरिकतामा खुसी हुनेहरु देखेर आफू अचम्मित बनेको तथ्य पनि सुनाउनु भयो ।
‘त्यो गैरआवासीय नेपाली भनेको त, नेपालप्रति माया नहुनेहरुको कुरा हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले गैरआवासीय नागरिकता भन्नेहरु आफूलाई नेपाली नागरिक भन्न नचाहनेहरुको कुरा हो भन्नुभयो । प्रधानमन्त्री ओलीलाई बंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता अभियानका अभियन्ता तथा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले विश्वभरबाट हस्ताक्षर अभियान चरिहेको समेत जानकारी दिनुभएको छ ।
थापाको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले नेपाली पासपोर्ट बोक्नेहरू गैरआवासीय वा एनआरएन हुन नसक्ने बताउनु भयो । यसैगरी प्रवासमा रहेका सबै नेपालीको केही न केही दायित्व मात्रृभूमिप्रति हुने र नेपाल रहेकाले प्रवासी नेपालीहरूलाई नेपाली भन्दा भरक नजरले हेर्न र बुझ्न नहुने प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य तथा अमेरिका माहदेश इञ्चार्ज प्रभु थापा, महिला विभाग प्रमुख कुन्ति थापा, अतिरिक्त विभाग प्रमुख कल्पना त्रिपाठी, सदस्य राजेन्द्र शिवाकोटी, अमेरिका माहदेश संयोजक इश्वरी भट्ट, उपसंयोजक बुद्ध लामा, अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, क्यानडा अध्यक्ष विशम्भर घिमिरेलगायत अमेरिका क्षेत्रका दर्जनौं प्रवासी नेपाली नेताहरूको उपस्थिति रहेको थियो ।
सो क्रममा नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सँधैको नेपाली हुनेमा आफू दृढ रहेको बताउनु भएको प्रवासी नेपाली मञ्चका सचिवालय सदस्य तथा अमेरिका माहदेश इञ्चार्ज प्रभु थापाले बताउनु भयो । थापाका अनुसार प्रधानमन्त्री ओली अमेरिका रहदासम्म कुनै पनि गलत गतिविधि नभएको र सामाजिक सञ्जालमा आएका विरोध सम्वन्धी सबै कुरा कपोकल्पित रहेको बताउनु भयो ।
उहाँले यूएनका सम्पूर्ण कार्यक्रमहरूमा प्रधानमन्त्री ओलीको उपस्थिति उच्चस्तरको रहेको र कोलम्विय यूनिभर्सिटी र हार्वड यूनिवर्सिटीको कार्यक्रमसहित बोष्टनका सामाजिक संघ संस्थाहरूको भेटघाट र नेपाली दुतावासको विदाई रात्रीभोज रहेको छ । प्रधानमन्त्री ओली आज नै न्यूयोर्कबाट नेपालका लागि उडनु हुनेछ । प्रधानमन्त्री ओली सोमवार ४ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अवतरण गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्