जनता टाइम्स

१९ आश्विन २०८१, शनिबार ००:२६

बाढीबाट अति प्रभावित ललितपुर-काभ्रे-दोलखा र धादिङसहित १४ जिल्लाका ४१ पालिका संकटग्रस्त क्षेत्र घोषणा (सूचीसहित)


काठमाडौं, असोज १९ । सरकारले गत साताको बाढी पहिरो र डुबानबाट बढी प्रभावित १४ जिल्लाका ४१ पालिकालाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । राहत तथा पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारले १४ जिल्लाका पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको अवस्था मूल्यांकन गरेर संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकको अध्यक्षमा रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले संकटग्रस्त क्षेत्र घोषणाको सिफारिस गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा विस्थापन ऐन, २०७४ मा कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद उत्पन्न भएको अवस्थामा त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकेर सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सक्ने ब्यवस्था रहेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले विपद संकटग्रस्त घोषणा गरिएका क्षेत्रमा विना बाधा–अवरोध राहत तथा पुनर्निर्माणलाई तीव्रता दिइने बताउनु भयो । राहत र पुनर्निर्माणमा आवश्यकताअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सबै स्रोत साधन प्रयोग गरिने मन्त्री गुरूङले बताउनु भयो ।

गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो मात्रामा जनधन क्षति गरेको थियो । बाढीपहिरोमा परी २ सय ३९ जनाको मृत्यु भएको छ भने अझै १९ जना बेपत्ता छन । यस्तै हजारौं परिवार घरवारविहीन भएका छन ।

क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरूद्ध छ । बाढीपहिरोबाट बढी प्रभावित जिल्लाहरूमा ललितपुर, काभ्रे, दोलखा, सिन्धुली, चितवन, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, पाँचथर, उदयपुर लगायत छन ।

यी हुन संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिका

फिदिम नगरपालिका
फालेलुङ गाउँपालिका
फाल्गुनन्द गाउँपालिका
चम्पादेवी गाउँपालिका
सुनकोशी गाउँपालिका
वेलका नगरपालिका
बेनिघाट रोराङ गाउँपालिका
नेत्रावती डबजोङ गाउँपालिका
धुनिबेंसी नगरपालिका
गजुरी गाउँपालिका
गौरीशंकर गाउँपालिका
बिगु गाउँपालिका
शैलुङ गाउँपालिका
मन्थली नगरपालिका
रामेछाप नगरपालिका
खाँडादेवी गाउँपालिका
दोरम्भा शैलुङ गाउँपालिका
सुनापति गाउँपालिका
लिखु तामाकोशी गाउँपालिका
गोकुलगंगा गाउँपालिका
उमाकुण्ड गाउँपालिका
भोटेकोशी गाउँपालिका
ललितपुरको बागमती गाउँपालिका
कोन्ज्योसोम गाउँपालिका
गोदाबरी नगरपालिका
रोशी गाउँपालिका
पनौती नगरपालिका
तेमाल गाउँपालिका
नमोबुद्ध नगरपालिका
बेथानचोक गाउँपालिका
मण्डनदेउपुर नगरपालिका
चौरीदेउराली गाउँपालिका
महाभारत गाउँपालिका
गोलन्जोर गाउँपालिका
सुनकोशी गाउँपालिका
फिक्कल गाउँपालिका
इन्द्रसरोवर गाउँपालिका
बकैया गाउँपालिका
चितवनको भरतपुर महानगरपालिका
माडी नगरपालिका
इच्छाकामना गाउँपालिका