काठमाडौं, असोज २५ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्ने उत्साह प्रदान गरोस भन्ने शुभकामना दिनुभएको छ । बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो कामना गर्नुभएको हो ।
‘दशैं पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।
उहाँले नेपालीहरूको महान चाड बडा दशैं, २०८१ को अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले दशैं नेपालीहरुको सवैभन्दा ठूलो चाड रहेको उल्लेख गर्नुभएको छ ।
‘वर्षायामको हिलोमैलो सकिएपछि स्वच्छ र सुन्दर शरद ऋतुको सुरुवातसँगै हर्षोल्लासपूर्वक मनाइने बडा दशैं पर्वलाई हामीले धार्मिक‚ सांस्कृतिक र सामाजिक पर्वको रूपमा मनाउँदै आएका छौँ । बडा दशैं नेपालीहरूको सबभन्दा ठूलो चाड हो । विविध क्षेत्र र समुदायका दशैं मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड पनि हो,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।
उहाँले बडादशैंको महत्व झनै बढेर गएको भन्दै परापूर्वदेखिको मान्यताको स्मरण पनि गर्नुभएको छ । ‘मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर आफन्तजनहरूसँगको सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने, मान्यजनहरूबाट आशिर्वाद लिने र आफूभन्दा सानाहरूलाई आशिर्वाद दिने अवसरको रूपमा बडा दशैंको विशेष महत्व रहेको छ,’ पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ ।
दशैंको पूर्वसन्ध्यामा आएको बिपदका घटनाले दशैंलाई केही खल्लो बनाएको भन्दै आफ्नो गच्छेअनुसार हर्षाेल्लासपुर्वक मनाउन आग्रह गर्नुभएको छ । ‘यस वर्ष दशैंको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपदका कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दशैं अली असहज र खल्लो पनि भएको छ । त्यसैले यो दशैं पर्वलाई हामीले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनु पर्दछ,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
शुभकामनाको पूर्णपाठ
नेपालीहरूको महान् चाड बडा दशैं, २०८१को अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वर्षायामको हिलोमैलो सकिएपछि स्वच्छ र सुन्दर शरद ऋतुको सुरुवातसँगैहर्षोल्लासपूर्वक मनाइने बडा दशैं पर्वलाई हामीले धार्मिक‚ सांस्कृतिकर सामाजिक पर्वको रूपमा मनाउँदै आएका छौँ । बडा दशैं नेपालीहरूको सबभन्दा ठूलो चाड हो । विविध क्षेत्र र समुदायका दशैं मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड पनि हो ।
मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर आफन्तजनहरूसँगको सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने,मान्यजनहरूबाट आशिर्वाद लिने र आफूभन्दा सानाहरूलाई आशिर्वाद दिने अवसरको रूपमा बडा दशैंको विशेष महत्त्व रहेको छ ।
यस वर्ष दशैंको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दशैं अलि असहज र खल्लो पनि भएको छ । त्यसैलेयो दशैं पर्वलाई हामीले आ–आफ्नो परिवेश,परिस्थिति र गच्छेअनुसार तडकभडकरहित,मितव्ययी,तर खुसियालीका साथ मनाउनु पर्दछ ।
अन्तमा, बडा दशैं पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ साल असोज २४ गते, विहीबार ।
प्रतिक्रिया दिनुहोस्