काठमाडौं, कात्तिक ८ । नेपालले श्रीलंकालाई ६-० गोलले हराएको छ। महिला साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६ गोलले हराएको हो।
पहिलो हाफ हुनुअघि ४ गोल गरेको नेपालले त्यसपछि २ गोल थपेको थियो। अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ। त्यसअघि भुटान र बंगलादेश पहिलो सेमिफाइनलमा भिड्ने छन्। बिहीबार समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन । अघिल्लो खेलमा माल्दिभ्सविरूद्ध पाँच गोल गरेकी रेखाले बिहीबार श्रीलंकाविरूद्ध १३ र ३६ मिनेटमा गोल गर्न सफल भइन।
रेखाले १३ मिनेटमा अमिषा कार्कीले गरेको क्रसमा डिबक्स भित्रबाट उत्कृष्ट भलिमार्फत बललाई गोल पोस्टको दिशा दिएकी थिइन्।यस्तै ३६ मिनेटमा रेखाले सावित्रा भण्डारी साम्बाले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई गोल लाइन नजिक छुँदा जाली चुमेको थियो।
त्यसअघि आठौं मिनेटमा सविता रानामगरले साम्बाको पासमा डिबक्सभित्रबाट गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन । अघिल्ला दुई खेलमा अनुपस्थित साम्बाले ११ मिनेटमा लोभलाग्दो गोल गरेकी थिइन। डिबक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारले सिधा गोलपोस्टको दिशा लिएको थियो।
दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो। अमिषा कार्कीले ४७ मिनेटमा नेपालका लागि पाँचौ गोल गरेकी थिइन्। नेपालले दोस्रो हाफको इन्जुरी समयमा नेपालले छैटौं गोल गरेको थियो। नेपालका लागि रश्मीकुमारी घिसिङले सो गोल गरेका थिइन ।
प्रतिक्रिया दिनुहोस्